राजनीति

आज ६९ औँ जननेता मदन भण्डारी जयन्ती

काठमाडौंं, असार १४ । जनताको बहुदलीय जनवादका प्रवर्तक एवं नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको आज ६९ औँ जन्मजयन्ती । देशभरि विभिन्न कार्यक्रम गरेर मदन जयन्ती मनाइँदै छ ।

भण्डारीको जन्मजयन्तीका अवसरमा नेकपा तथा मदन भण्डारी मेमोरियल फाउण्डेशनले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । फाउण्डेशनले आज आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

विश्व कम्युनिष्ट आन्दोलन संकटमा परेको बेला नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी भण्डारीले विश्वमा कम्युनिष्ट आन्दोलनको दियो जगाउनु भएको थियो ।

भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा परी निधन भएको थियो । उहाँ चढेको जिप दुर्घटनामा परेको थियो वा दुर्घटना गराइएको थियो भन्ने विषय अझै रहस्यमै छ । उहाँसँगै जिप दुर्घटनामा परि तत्कालीन नेकपा एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो ।

तत्कालीन नेकपा एमालेले उहाँको हत्या भएको भनि छानविन गर्न माग गरेको थियो । पार्टीले उहाँका चालक अमर लामाले सुनियोजित रुपमा जिप दुर्घटना गराई भण्डारीको हत्या गरेको बताउँदै आएको थियो । तर घटना किन गराइयो भन्ने कुरा अहिलेसम्म रहस्यमानै छ । भण्डारीका जिप चालक अमर लामाको समेत हत्या भएको छ ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । उहाँका पत्नी र २ छोरी हुनुहुन्छ । उहाँको पत्नी विद्यादेवी भण्डारी अहिले देशकै राष्ट्रपति हुनुहुन्छ ।

भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादकै जगमा अहिले देशका कम्युनिष्ट एक भएर नेकपा गठन भएको छ । अहिले नेकपाको पूर्ण बहुमतको सरकार छ । विश्वमा निर्वाचन प्रक्रियाबाट कम्युनिष्ट सरकार गठन हुनुलाई चमत्कारकै रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published.