स्वास्थ्य

झापाको गौरादहमा कोरोना संक्रमित वृद्धा महिलाको सम्पर्कमा आएका १ सय १ जनाको स्वाब संकलन

विकास घिमिरे
झापा, असार २३ ।
झापाको गौरादह नगरपालिका १ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीया वृद्धा महिलामा कोरोना संक्रमण पुष्टिभएपछि संक्रमण फैलिन नदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय १ जनाको आज स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोेविन्द श्रेष्ठले जानकारी दिए । पिसिआर परीक्षण गरिएका सबैजनाको रिपोर्ट नआएसम्म होम क्वारेन्टाइनमा नै बस्न समेत उनले आग्रह गरे ।

गत फागुनबाट नै घाँटीको समस्या आएकाले उपचार गरिआएकी ती महिलाको गत असार १८ गते काठमाडौको पाटन अस्पतालमा पिसिआर परीक्षणका क्रममा हिजो सोमबार रिपोर्ट पोजेटिभ देखिएको थियो ।

ती संक्रमित वृद्ध महिलामा कसरी कोरोना संक्रमण देखियो अझै थाहा हुन सकेको छैन् । संक्रमित वृद्ध महिलाको तत्कालको ट्राभल हिस्ट्री हेर्दा दमक, बिर्तामोड र काठ्माडौं रहेको छ । उपचारका लागि असार ११ गते बिर्तामोडको बीएण्डसी हस्पिटलमा गएको र त्यहाँबाट पूनः बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर बिर्तामोडमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पुनः छोरा र बुहारीको साथमा ती वृद्ध महिला असार १८ गते काठ्माडौं गएको खुल्न आएको नगर स्वास्थ्य शाखाका सहसंयोजक श्रेष्ठले वताए ।

यसैवीच, संक्रमित वृद्ध महिलामा कोरोना पोजेटिभ भेटिएपछि संक्रमण देखिएको क्षेत्र र बजार अर्का सूचना नभएसम्मका लागि अत्यावश्यक काम र सेवा बाहेक आवतजावत गर्न साथै सवारी साधन, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था, सहकारीहरु पूर्णरुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

आज नगरपालिकाले सूचना निकालेर संभावित जोखिमबाट उच्च सावधानी अपनाउन तथा संक्रमित क्षेत्र गौरादह वडा नं १ को चैतु चोक देखि दक्षिणमा वडा नं २ को कार्की चोकसम्म तथा पश्चिममा वडा नं ३ को गेउरिया पुलसम्म र पूर्वमा वडा नं २ र १ को डिठ्ठा चोक सम्मको क्षेत्र भित्र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

गौरादहमा यसअघि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप अर्को एक पुरुषमा, जेठ २८ गते पहिलो पटक एक महिलामा र असार १७ गते ४ पुरुषमा र ३ महिलामा कोरोना संक्रमण देखिएको थियो । हिजो एक वृद्ध महिलामा संक्रमण पुष्टि भएसँगै गौरादहमा कोरोना संक्रमितको संख्या ५ महिला र ७ पुरुष गरि १२ पुगेको छ । ती मध्ये ३ पुरुष र १ महिला कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ८ जना उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.