काठमाडौं, साउन १८ । नेपालमा थप २४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १४ हजार ६ सय ३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्तालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् ।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।
त्यस्तै मन्त्रालयले १२ वर्ष भन्दा कम र ६० वर्षभन्दा माथिका उमेर समूहमा नागरिकहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले ८० प्रतिशत संक्रमित कुनै समस्या बिना निको भएको बताए ।

