धर्म संस्कृती

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं, साउन १९ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्येक वर्ष,महिना,वार र गते फरक फरक हुने गर्दछ । रक्षाबन्धनको पूर्णिमालाई अथवा श्रावणीपूर्णिमालाई प्रतिपदा संयुक्त बनाउनु हुँदैन ।

भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लितपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना गर्नुपर्दछ । शुभ मुहूर्तमा अमात्यहरुका साथ आसनमा बसेका राजाको हातमा पुरोहितले मन्त्रपूर्वक रक्षा बाँध्नु पर्दछ ।
डोरो बाँधने मन्त्रः

येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चलः ।।

यसको अर्थः
“जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।

सत्य यूगमा दानवद्वारा लखेटिएका देवगणहरुलाई बचाउन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरो बाट अत्यन्त बलशाली दानव बलिराजलाई बाँधि देवगणहरुको रक्षा गरेका थिए त्यसरी नै म तिमिलाई बाँध्दछु सुरक्षित होऊ,बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा आजपनि रक्षा बन्धन बाध्ने प्रचलन चलि आएको छ ।

सत्य यूगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आजपनि दानवी शक्तिबाट रक्षित हुन वा हामी आफ्नो मन विचलित नहोस,सधै सत्कर्ममा मन गईरहोस्,विधि तथा कानूनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ आफ्नो गुरु तथा पुरोहितबाट आफ्नै घरमा वा मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछौ । आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिदिनाले मृत्यु पस्चात् वैतरणी नदी सजिलै पार गर्न सकिने धार्मिक विश्वास रहेकोछ ।