काठमाडौं, साउन ३२ । फ्रेन्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको चौथो क्वार्टरफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध ३–१ गोलको जित निकाल्दै लियोन अन्तिम चारमा पुगेको हो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित जोसे अल्भालाडे स्टेडियममा भएको खेलमा लियोनलाई जिताउन मौसा डेम्बेले दुई गोल गरे भने म्याक्सवेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डी ब्रुयनले एक गोल फर्काए ।
खेलको २१औं मिनेटमा टोको इकाम्बीको ब्याक पासमा कर्नेटले गोल गर्दै पहिलो हाफभरि लियोनलाई अग्रता दिलाए । खेलको ६९औं मिनेटमा केभिन डी ब्रुयनले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए । रहीम स्टर्लिङको पासमा डी ब्रुयनले गोल गरेका थिए ।
यस्तै खेलको ७९औं मिनेटमा मौसा डेम्बेलेले गोल गर्दै लियोनलाई पुनः अग्रता दिलाए । कप्तान मेम्फिस डीपेको स्थानमा मैदान छिरेका उनले चौथो मिनेटमा नै गोल गर्दै लियोनलाई अग्रता दिलाए ।
खेलको ८५औं मिनेटमा स्टर्लिङले बराबरीको अवसर गुमाएका थिए । उनले गोल गर्ने सुनौलो अवसर खेल फाले । खेलको ८७औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गर्दै लियोनलाई ३–१ गोलको जित दिलाए ।
यससँगै लियोनले जर्मन क्लब बायर्न म्युनिखसँग भेट पक्का गरेको छ । बायर्न बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यसअघि सिटीले रियल मड्रिड तथा लियोनले युभेन्टसलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका थिए ।

