काठमाडौं, साउन ३१ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गई रहेको छ । संक्रमणबाट मृत्यू हुनेको संख्या पनि दिन प्रतिदिन बढ्ने क्रममा छ । तर नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित छैनन् ।
नेपालको ७७ जिल्लामध्ये संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमित ८ हजार १९३ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार २ सय १ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा ११ हजार ४४७ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

