अर्थ स्वास्थ्य

मेचेले आफ्नो जन्मदिनमा गरे बिरामी र अनाथ बालबालिकालाई सहयोग

मेचीनगर, भदौ १५ । पछिल्ला समय जन्मदिनमा खर्चिने रकम समाजसेवामा खर्चिनेको संख्या बढ्दो छ । आफ्नो जन्मोत्सवमा फजुल खर्च गर्नु भन्दा दिनदुखिहरूलाई सहयोग गर्नु राम्रो काम भएको भन्दै मानवसेवामा सरिक भएको देखिन्छ ।

यसैबिच मेचीनगरका जनप्रतिनिधि, लोकप्रिय यूवा नेता तथा सामाजिक व्यक्तित्व सन्तोष मेचेले पनि आफ्नो जन्मदिन बिरामी र अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन्।

मेचीनगर वडा नम्बर ८ का वडा सदस्य समेत रहेका मेचेले आफ्नो ३४ औं जन्मदिनको अवसरमा सोमबार मेचीनगर– ८ सेन्टरी टोल निवासी मृगौला पिडित निर्मला ढुङ्गाना, मेचीनगर–८ का क्यान्सर पिडित बाबुराम सिटौला र सोही वडाकी बनम्यारो पिडित देउकुमारी धिमाललाई फलफूल र आर्थिक सहयोग गरेका हुन्।

त्यसैगरी उनले मेचीनगर–७ मा रहेको जागृत अनाथ बालआश्रममा रहेका १४ जना छात्र छात्रालाई खाद्यन्न सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।

जन्मदिनमा फजुल खर्च गर्ने क्रम बढ्यो’ मेचेले भने– मेरो जन्मदिन हरेक वर्ष विपन्न, दिनदुखि र मानवसेवामा समर्पित गर्ने छु । सोही अनुसार यसपालिको जन्मदिन बिरामी र अनाथ बालबालिकालाई सहयोग गरेर मनाएको हाम्रो खबरपाटीलाई जानकारी दिए।

जन्मदिनको अवसरमा वेफाल्टु होटलहरूमा खर्च गर्ने परिपाटि छ, तर मैले आफुले सकेको सानो सहयोग गरौ न भनेर बिरामीलाई फलफूल र नगद तथा अनाथ बालबालिकालाई खाद्यन्न वितरण गरेको मेचेले बताए । सहयोग वितरण कार्यक्रममा प्रतिभा टोल विकास संस्थाका सचिव ओमप्रसाद तिम्सिना, समाजसेवी विकास देवकोटा, फोटो पत्रकार मुकुन्द भट्टराईलगायतको सहभागिता रहेको थियो ।