संघ \संस्था

ओम्नी समूह कालो सूचीमा, अब ठेक्का गर्न नपाउने

काठमाडौं, भदौ २९ । स्वास्थ्य सामग्री खरिदमा चरम अनियमित गरेको ओबीसीआई. (ओम्नी समूह) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ओम्नी समूहलाई कालो सूचीमा राखेको हो ।

कोरोना भाइरसको महामारी फैलिएका समयमा स्वास्थ्य सामग्री आयात गर्ने अनुभव नै नभएपनि पहुँचका आधारमा ठेक्का हात पारेको थियाे। अत्यधिक महंगोमा गुणस्तरहीन स्वास्थ्य सामग्री ल्याएपछि सरकारकै चौतर्फी आलोचना भएको थियो । सोसँगै ओम्नीसँगको सम्झौता सरकारले एकतर्फी रूपमा रद्द गरेको थियो ।

समयमा सामान ल्याउन नसकेको कारण देखाउँदै सम्झौता रद्द गरिए पनि ओम्नीसँग खरिद कार्यमा संलग्नको साँठगाँठ रहेको बताइएको थियो । स्वास्थ्य सेवा विभाग टेकुको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कुनै पनि खरिद प्रक्रियामा सामेल हुन नपाउने गरी एक वर्षका लागि कालोसूचीमा राखेको हो ।