समाचार

दमक र मेचीनगरमा १० सहित, देशभर थपिए १२४६ जना कोरोना संक्रमित

झापा, असोज १ । बितेको २४ घण्टामा झापाको दमक र मेचीनगर नगरपालिकामा १० जना सहित देशभर थपिए १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दमक वडा नं. ५, ८ र ९ का ५ महिला र १ पुरुष गरी ६ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै मेचीनगर ६ र ७ नम्बरका चार जना पुरुषमा कोरोना देखिएको छ । उनीहरु भारतबाट आएका हुन् ।

यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८३ पुगेको छ ।

कुन जिल्ला कति ?
मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका १, मोरङका ९४, सुनसरीका ५४, धनुषाका १६, पर्साका १९, बाराका १०, महोत्तरीका ४, रौतहटका ७, सप्तरीका ९, सर्लाहीका ११, सिरहाका ११, काठमाडौँका ५०७, काभ्रेका २, चितवनका १०१, दोलखाका ३, धादिङका २, नुवाकोटका १, भक्तपुरका ५०, मकवानपुरका ६३, रामेछापका १ र ललितपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका ४, कास्कीका १६, गोरखाका ३, तनहुँका २, नवलपरासीपूर्वका १५, लमजुङका १, बागलुङका ४, स्याङ्जाका १, कपिलवस्तुका १, गुल्मीका १, दाङका १, नवलपरासीका १६, पाल्पाका १, प्यूठानका २१, बर्दियाका १३, बाँकेका २१, रुपन्देहीका ३, जाजरकोटका १, दैलेखका १० र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको हो।