समाचार

आन्तरिक हवाइ उडान आजबाट सुचारु

काठमाडौँ, असोज ५ । कोरोना महामारी त्रासका कारण छ महिनाभन्दा बढी समय बन्द भएको आन्तरिक हवाई उडान आजबाट नियमित हुँदैछ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

लामो समयपछि खुला भए पनि आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक रहेको छ । यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सोमबारको उडानका लागि ७० प्रतिशतसम्म टिकट बुकिङ भएको छ ।

सोमबार यतीले ११ वटा उडान गर्नेछ । त्यस्तै बुद्धले काठमाडौँबाट सोमबार १८ वटा उडान गर्ने अनुमति पाएको छ ।