स्वास्थ्य

नेपालमा बुधबार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ५ । नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुने यो संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको छ।

हिजो मंगलबार ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।