संघ \संस्था

नकलबन्दा साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर, पुस १८ । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको सभामा संस्थामा आवद्ध शेयर सदस्यलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष होमराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सापकोटाले सहकारी नाफामुखी मात्र होइन सेवामुखी संस्था पनि बन्नुपर्ने धारणा राखे । ‘सहकारीले सम्बन्ध फुटाउने होइन जोड्ने काम गर्छ’ प्रमुख अतिथि सापकोटाले भने – ‘स्थानीय सरकारले कृषकको समस्याको विषयमा समन्वय गरिदिन समेत सुझाव दिए । उनले सहकारी कुनै ठूलो, कुनै सानो नहुने बताए । प्रमुख अतिथि सापकोटाले – ‘सहकारीको स्तर समान हैसियतको हुने, कारोबार, पूँजीमात्र धेर थोरै हुने गरेको बताए ।

कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापा मगर, वडा सदस्य मेघराज गेलाल, मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राई, महेन्द्रद्वार सहकारी संस्थाकी सदस्य सुन्दरी श्रेष्ठ, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुपाल ओली, श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, संस्थापक अध्यक्ष कुमार तिम्सिना, निवर्तमान अध्यक्ष विष्णुप्रसाद अम्लागाई, इन्द्र तामाङलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकतर्फ १०२ वर्षीय बीरबहादुर अधिकारी, गीता करुवा, असल ऋणितर्फ होमप्रसाद चम्लागाईं र लक्ष्मीमाया राई, उत्कृष्ट बालबचततर्फ सुम्निमा राई, उत्कृष्ट बचतकर्तातर्फ विमला मैनाली, विशद्विप राजवंशी, राधा समाललाई नगद १ हजार १ सयसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट सञ्चालकतर्फ कार्यसमिति सदस्य टंकबहादुर समाल र ऋण उपसमिति संयोजक कृष्णबहादुर राईलाई सम्मानित गरिएको थियो । उत्कृष्ट कर्मचारीको रुपमा शिवराम खड्का (राजु)लाई नगद १ हजार ६ सय रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

३ करोड ५९ लाख ८२ हजार हजार ८ सय ४९ रुपैयाँ कारोबार वासलात रहेको संस्थाको शेयर पूँजी ४५ लाख १ हजार ८ सय ९० रहेको छ । संस्थाले करिब २ करोड ५० लाख ऋण लगानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाले ६ लाख ४३ हजार ६ सय ५७ खुद नाफा गरेको जनाइएको छ । संस्थाले विभिन्न विप्रेष्ण सेवा समेत सुचारु गरेको जनाइएको छ ।

संस्थाका सदस्य कुमारी निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव केशरप्रसाद तिम्सिनाले गरेका थिए ।