बाहुण्डाँगी, पुस १८ । चराहरुको खोज गरेर नेपाललाई चरा पर्यटनका माध्यमबाट विश्वभर परिचित गराउने अभियानमा लागेका झापा मेचीनगरका देवेन्द्र खरेललाई सुसेली साहित्यक परिवारले यो वर्षको सुशेली साहित्यक प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।
१२ वर्षदलेखि काँकरभिट्टामा फोटो तथा भिडियो ग्राफीको व्यवसाय गर्दै आउनु भएका खरेल पछिल्लो समय चराहरुको संरक्षण अभियानमा लाग्नु भएको थियो । खरेलले आफ्नो शोखको रुपमा चराहरुको संरक्षणमा लागेता पनि उहाँ अहिले नेपालमा मात्र होइन विभिन्न देशहरुमा चराहरुको संरक्षणकर्मीका रुपमा परिचित हुनु भएको छ । खरेल मेचीनगरका फोटो पत्रकार समेत हुनुहुन्छ ।
सम्मानित भएपछि खरेलले हाम्रो खबरपाटी डटकमसँग कुरा गर्दै यो सम्मानले अझ जिम्मेवारी बढेको बताउँदै पूर्वी मेचीनगरलाई अन्तराष्टिय स्तरको पर्यटकीय गतिविधि बढाउन बन्य जन्तुमा चरा अवलोकनको प्रसस्त सम्भावना भएकाले यसलाई पहिचान गरी विश्वभर पुर्याउने बताउनु भयो ।
खरेलसहित प्रतिष्ठानले अन्य चार प्रतिभा शनिबार सम्मानित गरेको छ ।
मेचीनगर–१० निवासी चरा खोजकर्ता खरेलले नेपालमा पहिलोपल्ट हरित परेवा फेला पारेका थिए । उनले नेपाल, भारत र भूटानसम्म चराको खोज गर्दै आएका छन् । उनलाई रु ११ हजार नगदसहित सुसेली प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी बिर्तामोडमा बुद्ध अफसेट सञ्चालन गर्दै आएकी कुशल व्यवसायी कमला भट्टराई पराजुलीलाई रु १० हजार नगदसहित बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ । साहित्यकार देवीचरण भण्डारी, शिक्षासेवी इन्द्रबहादुर मुखिया र अञ्जना न्यौपानेलाई सोही अवसरमा सम्मानित गरिएको थियो ।
सुसेलीले झापाली स्रष्टाका परिचय समेट्दै प्रकाशित गरेको सुसेली स्मारिकाको १८औँ संस्करण शनिबार सोही कार्यक्रममा लोकार्पण गरेको छ । भाषाविद् चुडामणि रेग्मीले झर्रोवादी साहित्य अभियानमा सुसेली साहित्यिक परिवारले अनुकरणीय योगदान पु¥याइरहेको बताए । कार्यक्रममा झापाका प्रतिष्ठित साहित्यकारहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

