मेचीनगर, पुस २३ । झापाको मेचीनगरमा आजबाट १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । प्रतियोगिताको १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो ।

मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेचीनगर–६ स्थित मेची सामुदायिक भवनमा आजबाट सुरु भएको प्रतियोगिता पुस २५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुने छन् । प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङ बाहेक सवै जिल्लाबाट १ सय १६ जना खेलाडीले सभागिता जनाएको बताइएको छ ।
करीब ७ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले प्रायोजन गरेको छ।
प्रतियोगितामा मेन्स डबल्स तर्फको बिजेता टिमले नगद ५० हजार, दोस्रोले ३१ हजार र तेस्रोले २० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै भेट्रान तर्फको बिजेता टिमले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र हात पार्नेछन् । उद्घाटनका दिन आज ४३ वटा खेल सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
आज भएको उद्घाटन सत्रमा प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ, वडा सदस्य राजकुमार श्रेष्ठ, नेकपाका नेता डिल्लीराम घिमिरे, नेपाली कांग्रेस मेचीनगरका सभापती ईन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्य, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
खेल संयोजक हरिप्रसाद तिमिस्नाको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन आयोजक क्लबका सदस्य ओमप्रकाश दाहालले गर्नुभएको थियो ।

