खेलकुद

युभेन्ट्सको सहज जित

काठमाडौं, पुस २७ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए ।

युभेन्ट्सविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । उसका पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए । दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३-१ को महत्वपूर्ण जित दिलाए ।

जितसँगै युभेन्ट्सले १६ खेलमा ३३ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौंथो स्थानमा रहेको छ । सासुओलो २९ अंक जोडेर सातौं स्थानाम रहेको छ ।