बाहुण्डाँगी, माघ ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेसीज युवाहरुलाई विधिका शासनका लागि आवाज उठाउन आग्रह गर्नु भएको छ ।
कपन जेसीजको १० औँ पदहस्तान्तरण कार्यक्रमकमा सोमवार सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले जेसीजको आस्था र भावना देख्दा त हरेक मानिस जेसीजमा रहनुपर्ने देखिन्छ भन्दै युवाहरुलाई जेसीजको आस्था जस्तै व्यवहार जीवनमा उतार्न र विधिको शासनको लागि आवाज उठाउन आग्रह गर्नु भएको हो । थापाले भन्नु भयो –‘देशका राजनीतिक नेताहरुले विधिको शासन मान्न छोडेका छन् जसका कारण देशले गति लिन सकेको छैन । त्यसैले अब हरेक जेसीज युवाहरुले यसका लागि आवाज उठाउनु पर्छ ।’

जेसीजको आस्था पाठको चर्चा गर्दै हरेक युवाको मनमा मानविय भावना जाग्नु पर्ने बताउनु भएको हो । थापाले सामाजिक लगायत सबै संस्थामा राजनीतिकरण हुनुपर्छ तर दलियकरण हुनु नहुने पनि स्पष्ट पार्नु भएको छ । “अहिले देशले ठूलो संकट बेहोर्नु परेको छ’ कपन क्षेत्रका प्रतिनिधि सांसद समेत रहनु भएका थापाले भन्नु भयो–‘जनताको विश्वासमाथि कुठाराघात भएको छ ।’

युवा नेता थापाले कपन जेसीजले सामाजिक क्षेत्रमा गरेका हरेक गतिविधिहरुमा आफु साक्षी रहेको बताउँदै समाजका लागि गरेको योगदानको खुलेर प्रशंसा गर्नु भयो । साथै उहाँले आउँदा दिनमा समेत सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । उहाँले जेसीज युवाहरुले अब यो देशका राजनीतिक दललाई विधिको शासन सिकाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष जगत पोखरेल, एम्नेष्टी इन्टरनेश्नल नेपालका पूर्व अध्यक्ष सुर्यबहादुर अधिकारी, प्रदेश सांसद नुच्छेनारायण श्रेष्ठ, बुनपाका मेयर उद्धव खरेल, नेपाल जेसीजका महासचिव सिनेटर विकास मानन्धर, निरुपित राष्टिय उपाध्यक्ष गौतम शाह तथा शाखाका पूर्व अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।

सोही समारोहमा २०२० का अध्यक्ष रुपेश भट्टराईले २०२१ का अध्यक्ष नवराज वनलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष वनले जेसीज अभियानलाई आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमका साथ थप उचाइमा लैजाने बताउनु भयो ।

यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा श्याम तिम्सिना र सुमन थपलिया, उपाध्यक्षहरुमा प्रदिश खनाल, लिला पोखरेल, प्रशान्त थपलिया र सोनी तामाङ निर्वाचित हुनु भएको थियो ।
साथै नवनिर्वाचित अध्यक्ष वनले २०२१ का लागि महासचिवमा दिपकजंग अधिकारी, कानुनी सल्लाहकारमा विश्वबल्लभ नेपाल र कोषाध्यक्षमा बरुण कुइँकेललाई मनोनित गर्नु भएको छ । साथै तालिम निर्देशकमा मना लामा, जनसम्पर्क अधिकारीमा सविना मोक्तान, सहसचिवमा निमा लामा, सहकोषाध्यक्षमा रोषा अधिकारी, प्रशासनिक राजनितिक संयन्त्र संयोजकमा रिता थपलिया र कोष बृद्धि निर्देशकमा राजन न्यौपाने चयन भएका थिए ।
कपन जुनियर जेसीजको २०२०कि अध्यक्ष विनिता सिलवालले २०२१ का अध्यक्ष सुयेक गुरुङलाई आफ्नो गलाको चेन र कुर्सी हस्तान्तरण गर्दै शपथ ग्रहण गराएकी थिइन्।

