समाचार

वैशाखमा हुने निर्वाचन पहिलो चरणमा ४ र दोस्रो चरणमा ३ प्रदेशमा हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन पहिलो चरणमा चार र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन हुने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको बताउनु भयो । ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न हुने बताउनु भएको छ ।

ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित बागमती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिनुभयो ।

सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न समेत ओलीले आग्रह गरे । अहिलेका अवस्थामा केही तत्वबाट विभिन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराउर्दै घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताउनु भयो । ओलीले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गर्नुभयो ।