खेलकुद

बायर्न शीर्ष स्थानमा

काठमाडौं, माघ १२ । जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।

१८ औ चरणको खेलमा गएराती साल्केलाई ४–० को फराकिलो अन्तरले हराउदै बायर्न शीर्ष स्थानमा बलियो बनेको हो । उसलाई शानदार जित दिलाउन थोमस मुलरले २ तथा रोबर्ट लेबान्डोस्की र डाविड अल्वाले एक एक गोल गरे ।

३३ औ मिनेटमा मुलरको गोलमा अग्रता बनाएको बायर्नका लागि लेबान्डोस्कीले ५४ औ मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर पारेका थिए । मुलरले ८८ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ३–० को अवस्थामा पुग्यो । त्यसको २ मिनेटपछि अल्वाले गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।

१८ खेलबाट ४२ अंक जोडेको बायर्नले दोस्रो स्थानको आरबी लाईपजिगलाई ७ अंकले पछि पार्दै उपाधि यात्रा मजबुत बनाएको हो ।

अर्को खेलमा होफिनह्यामले एफसी क्लोनलाई ३–० ले हरायो । यो जितले होफिनह्यामलाई २२ अंकमा तालिकाको ११ औ स्थानमा पुर्याएको छ ।