संघ \संस्था

मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर, फागुन २२ । मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभाकक्षमा आयोजित सभाको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले केन्द्रलाई राजनीतिक लाञ्छनाबाट मुक्त राख्न सहमतिय पद्धतिबाट सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

‘सबैले संस्थाको गरिमा र मर्यादालाई आत्मसात् गर्नुको विकल्प छैन’ केन्द्रको संस्थापक अध्यक्ष समेत रहेका उनले भने–‘विकृति विसंगतिरहित समाज निर्माणका लागि संस्था सदैव क्रियाशील हुन जरुरी छ ।’

सभाको उद्घाटन सत्रका विशिष्ट अतिथि संविधानसभा सदस्य उषा गुरुङले केन्द्रले स्थापनाकालदेखि नै जनता र प्रहरीबीच सेतुको रुपमा भूमिका निर्वाह गर्दै आएको बताइन् । संस्थालाई दलीय हस्तक्षेपबाट टाढा राख्न सबैपक्ष संवेदनशील हुनुपर्ने उनको धारणा थियो ।

त्यस्तै, अर्का विशिष्ट अतिथि प्रदेश सांसद् श्रीप्रसाद मैनालीले सामाजिक क्षेत्रका अनुभवी व्यक्तिले केन्द्रको नेतृत्व लिनुपर्ने विचार राखे ।

‘विगतमा केन्द्रले सम्पादन गर्दै कार्यहरु अहिले हरेक वडाका न्यायिक समितिले गर्दै आएका छन्’ उनले भने–‘त्यसको सहजीकरणको पाटो केन्द्रले सम्हाल्ने गरेको छ ।’

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरी एक्लैलाई समाजमा उत्पन्न समस्या समाधान गर्न गाह्रो पर्ने बताउँदै समाजको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा नेपाल कम्युनिस्ट पार्टीका नेता डिल्लीराम घिमिरे, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, नगर उपसभापति सुरेन्द्र बुढाथोकी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, धुलावारी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रल्हदमणि ओलीलगायतले बोलेका थिए ।

त्यसक्रममा राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, नाइट चेस क्लवका अध्यक्ष राजु कार्की, लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष शंकर थापा, काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष हर्क फ्याक, काँग्रेस नेता बसन्त तिवारी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी निरीक्षक प्रेम राईलगायतको आतिथ्यता थियो ।

सभाको सन्दर्भ पारेर केन्द्रले संस्थालाई सहयोग पुर्याएबापत केन्द्रका कार्यसमिति सदस्य तथा छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक बालकृष्ण थापालगायत विभिन्न व्यक्ति एवँ संघसंस्थालाई सम्मान गरेको छ ।

सो अवसरमा केन्द्रको सामुदायिक शाखाको कार्यसम्पादनमा सहयोगी भूमिका निर्वाह गर्दै आएकी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत् प्रहरी जवान गौरी श्रेष्ठलाई नगदराशी ५ हजार रुपैयाँसहित सम्मान गरियो ।

केन्द्रले चेलीबेटी बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि क्रियाशील संस्था माइती नेपाल, आफन्त नेपाल, साहसी महिला, साना हातहरु नेपाल, विश्व सेवा विस्तार संस्थालाई सम्मान गरेको छ ।

त्यसैगरी, केन्द्रले मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय, मेची भन्सार एजेन्ट संघ, मेची नेत्रालय, अंगतबहादुर थापा, भूपाल शिवाकोटी, श्याम पिन्टुलगायतलाई सम्मान गरेको छ ।

लसंस्थाका अध्यक्ष बुद्धिनाथ पौडेलको अध्यक्षतामा भएको सभाको खुल्ला सत्रमा स्वागत उपाध्यक्ष बिना तामाङ र सञ्चालन महासचिव गंगा कोइरालाले गरेका थिए ।