संघ \संस्था

पोखरा लेडीको मल्टि च्याप्टर तालिम सम्पन्न

बाहुण्डाँगी, २३ फागुन । पोखरा लेडी जेसीजको आयोजनामा शनिवार मल्टिच्याप्टर तालिम सम्पन्न गरेको छ । नेपाल जेसीजको तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न तालिममा संसदीय सभा प्रणाली सम्बन्धी तालिम सम्पन्न गरेको हो । संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष जेसीआई सिनेटर दिपक शाक्य रहनुभएको थियो ।

पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु ५४ जनाको सहभागिता रहेको उक्त तालिम उपलब्धिमूलक रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा (विनिता) ले बताउनु भयो । शर्माले यस वर्षदेखि पोखरा लेडी जेसीजमा कर्पोरेट पार्टनरबाट सहकार्यको शुरुवात गरेको समेत बताउनु भयो ।


नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, कोषाध्यक्ष पविन्द्र भट्टराई, नेपाल जेसीज तालिम प्रतिष्ठानका क्षेत्र ख का संयोजक उमेश गुरुङको आतिथ्यता रहेको थियो । पोखरी लेडी जेसीजकी महासचिव सुमित्रा कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक सकुन पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।


लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेलले यस प्रकारको प्रशिक्षणले जेसीजका सदस्यहरुको व्यक्तित्व विकास र बैठक सञ्चालनको ज्ञान वृद्धि हुने बताउनु भयो । त्यसैगरी सहभागीको तर्फबाट पोखरा जेसीजका कानून सल्लाहकार देवराज शर्मा तथा गल्याङ जेसीजका हिमा न्यौपानेले मन्तव्य राख्नु भएको थियो ।