धर्म संस्कृती

कोरोना प्रभावः पातालगंगा शिवालय मन्दिरमा लाग्ने शिवरात्री मेला (तस्वीर सहित)

युवराज आचार्य
मेचीनगर, फागुन २७ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्ष शिवरात्री मेला प्रभावित बनेको छ ।

महाशिवरात्रीको अवसरमा झापाको मेचीनगरमा रहेको पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल पातालगंगा शिवालय मन्दिरमा लाग्ने मेला प्रभावित बनेको हो ।

यस क्षेत्रमा तामझामका साथ बिगत बर्षहरुमा भब्य मेला आयोजना हुन्थ्यो । मेलामा रोटेपिङ्ग, रेलगाडी, मोतका खेललगायत विभिन्न मनोरञ्जनका खेलहरु पनि राखिने गरिन्थ्यो ।

हरेक वर्ष तीस हजार बढी तीर्थयात्रीले यस ठाँउमा मेला भर्दै आएका छन् । यस क्षेत्रमा शिवरात्रीको अवसर पारेर स्थानिय तथा छिमेकी राष्ट्र भारतबाट हिन्दू धर्मावलम्वीे दर्शनार्थीहरुले मेलाको अवलोकन गर्न आउने गर्दछन् । तर यो बर्ष कोरोनाले अन्य क्षेत्र जस्तै यस क्षेत्रलाई पनि असर पारेको स्थानिय बताँउछन् ।

मेचीनगर ५ र ८ मा रहेको यस धार्मीक तथा पर्यटकीय स्थल मेचीनगर मै सम्भावना बोकेको क्षेत्रमा पर्दछ । यस क्षेत्रलाई सम्बन्धित सरोकारवाला र स्थानिय सरकारले उचित संरक्षण र प्रवद्र्धन गर्न सके यस क्षेत्रबाट मनग्य आम्दानी हुनका साथै समग्र मेचीनगरकै विकासमा टेवा पुग्ने जानकारहरु बताँउछन् ।

एक दशक अगाडी सम्म शिवरात्रीको अवसर पारेर सात दिने मेलाको आयोजना गरीन्थ्यो । विभिन्न स्थानबाट हजारौ भक्तजन आउने गर्थे तर पछिल्लो बर्ष व्यवस्थापन गर्न नसक्दा तीन दिन मात्र आयोजना हुदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर कोईरालाले बताउनु भयो ।

कोरोना सन्त्रासलाई जित्दै भर्खरै हाम्रो समाज अगाडी बढी रहेको छ । हामीले हेल्चेक्राई गर्नु हुदैन त्यसैले यस बर्ष मन्दिरमा तामझामका साथ मेलाको आयोजना गरिएको छैन, सामान्य रूपमा मेला लागेको छ । तर पुजा आरधनाको लागि भने उचित व्यवस्थापन गरिएको मन्दिर व्यवस्थापन समिकिा उपाध्यक्ष अर्जुन पोख्रेलले बताउनु भयो । उहाको अनुसार आगामी बर्ष भव्यरुपमा समितिले मेलाको आयोजना गर्ने बताउनु भयो ।