संघ \संस्था

धुलाबारी खानेपानीको साधारणसभामा सस्थापकलाइ सम्मान

देबु बानियाँ
धुलावारी, चैत ९ ।
मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बढ्दो शहरीकरणसंगै पानीको समस्या जटिल बन्दै गएकाले भविष्यमा हुने पानीको समस्यालाई निवाकरण गर्न बैकल्पिक स्रोतको खोजी गर्न मेचीनगरपालिका लागि पर्ने बताएका छन् ।

धुलावारी खानेपानी उपभोक्ता समितिको २० औँ बार्षिक साधारणसभा तथा रजत महोत्सवलाई सोमवार सम्बोधन गर्दै नगर प्रमुख आचार्यले नगरमा रहेका खानेपानी संस्थाहरुलाई समन्वय गरी बैकल्पिक स्रोतको खोजी गर्दै पानीको स्रोतलाई दीर्घकालिन बनाउन विशेष कार्यक्रम ल्याउने बताएका हुन् ।

‘उपभोक्ताहरुका लागि निर्विकल्प बनेको यस खानेपानी संस्थाले उत्कृष्ट सेवा दिँदै आएको छ’–कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले भने–‘अहिले नियमित खानेपानीको जुन समस्या रहेको छ यसको अन्त्यका लागि शान्तिनगरको मुहानको समस्या समाधान र डिप बोरिङलाई बढाएर लैजान नगरपालिकाले पहल गर्नेछ ।’ मेयर आचार्यले नगरमा भएका ४ वटा खानेपानी संस्थालाई व्यवस्थित गर्न समेत विशेष पहल गर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि अग्रज पत्रकार चन्द्र भण्डारीले संस्थाले अघि सारेको शुल्क बृद्धिका बारेमा उल्लेख गर्दे संस्थाका लागि उपभोक्ताहरु शुल्क बढाएर जान तयार छन् तर शुद्धद पिउने पानीको सुविधा संस्थाले दिन सक्नु पर्ने बताए । उनले वर्तमान समितिले उत्कृष्ट कार्य गर्न सफल भएको बताउँदै सडक दुर्घटनामा परेका निवर्तमान अध्यक्ष इन्द्र बुढाथोकीलाई संस्था तथा उपभोक्ताहरुले केही रकम सहयोग गर्नु पर्ने बताए ।

अर्का अतिथि संस्थापक अध्यक्ष राम कट्टेलले धुलावारीका बासिन्दाहरुका लागि शान्तिनगरबाट ल्याएको खानेपानीले २५ वर्ष पुरा गरेकोमा खुसी व्यक्त गर्दै त्यस समयमा आफुले संस्था तथा यस क्षेत्रका उपभोक्ताका लागि गरेको पहलले सार्थक रुप पाएको बताए ।

काँकरभिट्टा खानेपानीका अध्यक्ष हर्क फ्याकले मेचीनगर नगरपालिकाले खानेपानी संस्थाका लागि कुनै पनि बजेट विनियोजन नगरेकाले संस्था सञ्चालनमा असहज हुँदै आएको बताउँदै आगामी दिनमा खानेपानीको स्तरउननतीका लागि विशेष योजनाका साथ बजेट विनियोजन गर्न माग गरे ।

No description available.

संस्थाका अध्यक्ष अजय घिमिरेका सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष मणिकुमार उप्रेती, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य संगिता थापा, नेकपाका मेचीनगर अध्यक्ष राजु पोखरेल, राप्रपा मेचीनगरका निवर्तमान अध्यक्ष शुसिल आचार्य, संघिय समाजवादीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, धुलावारी क्याम्पसका क्याम्पस प्रमुख पुष्प पौडेल, माओवादी केन्द्रका मेचीनगर संयोजक पुष्प गुरगाईलगायतले धुलावारी खानेपानीले वर्तमान अवस्थामा गरेको प्रगतीको प्रशंसा गर्दै आगामी दिनमा समेत उपभोक्ताको हितमा काम गर्न आग्रह गरेका थिए । साथै अधिकांश वक्ताहरुले शान्तिनगरको मुहान विवादलाई समाधान गर्दै निकट भविष्यमा बैकल्पिक स्रोतको खोजी गर्न आग्रह समेत गरेका थिए ।

रजत जयन्तीको अवसर पारेर संस्थापक अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष राम कट्टेल, सचिव मणिकुमार उप्रेती, सदस्यहरु रोशनलाल अग्रवाल, स्व. द दानबहादुर थापा, दिलबहादुर खड्का, गणेश विक्रम नेम्बाङ, गोविन्द पराजुली, कुमुचन्द्र झा, कर्णबहादुर श्रेष्ठ, दिनेश निरौला, सरस्वती सिटौला र स्व. दुर्गादेवी शर्मालाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र, कलश, दोसल्लासहित सम्मान गरिएको हो । यसैगरी, संस्थाबाट अनिवार्य अवकास भएका टंक चापागाई र स्वच्छिक अवकास लिएकी भारती गौतमलार्य सम्मान सहित विदाइ गरिएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष वाचाङ नेम्बाङ, व्यवसायि पुनित वंशल, नगर कार्यपालिका सदस्य कृष्ण कनाल, भीम खवास, जानुका ओलीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन अघि संस्थाका परिसरमा निर्माण गरिएको रजत स्तम्भको अनावरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अजय घिमिरेले संस्थाको प्रतिवेदन पेश गरेका थिए । उपाध्यक्ष चेतन विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कञ्चनकुमार तामाङले गरेका थिए । संस्थाले यस वर्षलाई रजत वर्षका रुपमा लिएर विभिन्न कार्यक्रमहरु गर्ने बताइएको छ ।