काठमाडौं, चैत २६ । प्रतिनिधि सभाका चारजना सांसद्को संसद् सदस्यता पद खारेज भएको छ ।
नेकपा एमालेमा समर्पित हुनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्टा, प्रभु शाह र गौरीशंकर चौधरीको पद खारेज भएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँहरुको प्रतिनिधि सभा सदस्य पद खारेज गरिएको सूचना पढेर सुनाउनुभएको थियो ।
चारजना सांसद्को सदस्यता समाप्त गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख सापकोटालाई पत्र लेख्नभएको थियो ।
दल त्याग गरेर अर्काे दलमा सामेल भएकाले चारजनाको सदस्यता खारेज भएको सूचना सभामुखले सुनाउनुभएको हो ।
प्रतिनिधि सभाको यो कार्यकालमा यस अघि संघीय समाजवादीकी सांसद् सरिता गिरिको सदस्यता गुमेको थियो ।

