पोखरा, चैत २७ । अफ्रिकन रुट्स पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाएको छ । विभागिए टिम नेपाल पुलिस क्लवलाई २-० ले हराउँदै अफ्रिकन रुट्स फाइनलमा स्थान बनाउन सफल भएको हो ।
पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट्सले प्रतियोगिताको सफल टिम मध्यको एक पुलिसलाई हराउन बासेकको एकमात्र गोल निर्णायक बन्यो । खेलको तेस्रो मिनेटमा नै उनले पुलिसको डिफेन्सको कमजोरीको फाइदा उठाँउदै बासेकले गोल गर्न सफल भए ।
एक गोलल पछि परेको अवस्थामा पुलिसले तीन वटा अवसर पाएको थियो । तर उसले पाएका मौकालाई आत्मसाथ गर्न सकेन । यता अफ्रिकन रुट्सले पनि दुई वटा निकै उत्कृष्ट मौका खेर फाल्यो । उसको आक्रमणलाई पुलिसका गोलकिपरले बचाए ।
८४ औं मिनेटमा जुमानु राईको फ्रिकिक पुलिसले पाएको उत्कृष्ट मौका पोष्टको नजिकैबाट बाहिरीयो । ८९ औं मिनेटमा जुमानु राईले मिलाएको बलमा सुमन लामाले गरेको हेडको प्रयासलाई अफ्रिकन रुट्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
खेलको इन्जुरी समयको पनि अन्तिम मिनेटमा अफ्रिकन रुट्सले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि मोउसाले गोल गर्न सफल भए । त्यसपछि प्रतियाेगिताकाे सफल टिम पुलिसकाे यात्रा सेमिफाइनलमा टुंगियाे । अब उसले उपाधिका लागि संकटासँग खेल्नेछ । यो खेल शनिबार हुनेछ ।
अफ्रिकन रुट्ले एक सातामा दोस्रो फाइनल खेल्नेछ । यसअघि उसले बागमती गोल्डकपको फाइनल खेलेको थियो । जसमा अफ्रिकन रुट्स थ्रीस्टारसँग तीन दुईले पराजित भएको थियो ।

