झापा, बैशाख ५ । १२औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा बैशाख ३, ४ र ५ गते सञ्चालन भएको प्रतियोगितामा उपाधि जित्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गर्यो ।
भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १/१ कास्य जितेको छ ।
प्रतियोगितामा अर्जुनधारा नगरपालिकाले ८ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै दोस्रो भएको छ । अर्जुनधाराले एथ्लेटिक्समा ३, तेक्वान्दोमा ३ र उसुमा २ स्वर्ण जितेको छ । एथ्लेटिक्समा १, करातेमा २, तेक्वान्दोमा ३ र उसुमा ४ रजत जितेको छ ।
एथ्लेटिक्समा १, करातेमा १ र तेक्वान्दोमा २ र उसुमा २ कास्य जितेको छ ।
त्यसैगरी मेचीनगर नगरपालिका ५ स्वर्ण, ७ रजत र ११ कास्य पदक जित्दै तेस्रो भएको छ । मेचीनगरले एथ्लेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको हो । एथ्लेटिक्समा ३, भलिबलमा १, तेक्वान्दोमा ३ रजत जितेको छ । एथ्लेटिक्समा ४, करातेमा १, तेक्वान्दोमा ६ कास्य जितेको छ ।
प्रतियोगितामा दमकले ५ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने शिवसताक्षीले ५ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । कमलले ५ स्वर्ण, २ रजत र १ कास्य, बिर्तामोडले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ ।
कनकाईले १ स्वर्ण, ५ रजत र ३ कास्य, बाह्रदशीले १ स्वर्ण, ४ रजत र ६ कास्य, गौरादहले १ स्वर्ण र २ कास्य, कचनकवलले १ रजत र १ कास्य, बुद्धशान्तिले १ रजत र ५ कास्य, हल्दिबारीले १ रजत र ३ कास्य, गौरीगञ्जले १ रजत र १ कास्य जितेको छ । झापा गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन ।
राखेपले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरुले भाग लिएका थिए ।
झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा भएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहल दाश मैनालीले बताए ।
एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट भएका छन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहको थियो ।
छनोट भएका खेलाडीले यही बैशाख १० र ११ गते हुने प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए । प्रदेशमा छानिएको खेलाडीले बैशाख २९ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछ ।

