विविध

पर्यटकिय गन्तव्य जौबारी, तुम्लिङ मेघ्मा (फोटो फिचर)

नरेन इलामेली
इलाम, बैशाख ५ ।
नेपाल र भारतको सीमावर्ती क्षेत्र जौबारी, तुम्लिङ, मेघ्मा माइजोगमाई गाउँपालिकाको प्रमुख पर्यटकिय गन्त्व्य हो । ढकमक्क लालीगुराँसले ढाकिएको जौबारी पुग्दा विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा हिमाललाई आँखै अगाडी नियाल्न सकिन्छ ।

माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट नयाँबजार, थुम्के, जौबारी सडक खण्डको करिब १ घण्टा ३० मिनेटको यात्रामा पुग्न सकिन्छ जौबारी । सफा मौसम भएका बेला चिसो हावा र खुल्ला फराकिलो पहाडी धरातल भएको जौबारी पुग्दा स्वर्ग झैँ आभास हुन्छ । जताततै नाङ्गो पहाड देखिने जौबारीबाट कंञ्चनजंघालाई आफ्नै आँखा अगाडी नियाल्न सकिन्छ ।

जौबारीबाट केहि अघि बढेपछि समुन्द्री सतहबाट २९७० मिटर उचाईमा रहेको तुम्लिङ पुग्न सकिन्छ । खुल्ला चरन भएको यस क्षेत्रलाई तुम्लिङ खर्कका रुपमा समेत चिनिन्छ । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट तुम्लिङ कच्ची सडक भए पनि सहजै पुग्न सकिन्छ तर तुम्लिङबाट मेघ्मा पुग्न नेपाल तर्फको कठिन सडकको समाना गर्नुपर्ने हुन्छ ।

तुम्लिङबाट कच्ची ग्राभेल गरिएको एकदमै साँघुरो सडकमा करिब २ किलोमिटरको यात्रा पछि मेघ्मा पुग्न सकिन्छ । जहाँ पुगेर माइजोगमाई गाउँपालिकाको धरोहरका रुपमा रहेको एकदमै पुरानो ऐतिहासिक गुम्बाको दर्शन तथा अवलोकन गर्न सकिन्छ । यस क्षेत्रबाट भारतको सिंहलिला नेशनल पार्क समेत अवलोकन गर्न सकिन्छ ।

भारतको माने भञ्ज्याङ सन्दकपुर सडक खण्ड अन्तर्गत पर्ने यो क्षेत्रमा खाना र बस्नका लागि होटल र होमस्टेको व्यवस्था भए पनि नेपाली नेटवर्कको टेलिफोन सेवाले त्यति काम गर्दैनन् । यस क्षेत्रको सडक विस्तार गरि प्रचार प्रसार गर्न सके बर्षेनी लाखौँ पर्यटकहरु माइजोगमाईमा भित्र्याउन सकिन्छ ।