स्वास्थ्य

कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु

झापा, जेठ ३ । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।

स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो ।

उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

उपचारकै क्रममा आज बिएन्डसी हस्पिटलमा निधन भएको हो । उनको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे ।

उनको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिए । उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।

संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।