मेचीनगर, जेठ, ६ ।झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरमा रहेका कोभिडका विरामीलाई निशुल्क उपचार गर्ने भएको छ । नगरपालिकामा बुधबार सञ्चारकर्मीसँगको भेटधाटमा नगरप्रमुख विमल आचार्यले नगरमा कोभिड संक्रमितहरुलाई निशुल्क उपचार गरिने बताएका हुन ।
कोरोनाको समयलाई मध्यनजर गदैं नगरभित्रका जनताको सेवाको लागि निशुल्क एक्स–रे मेसिन सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिए । कोरोनाको महामारीका बेला नगरका जनताहरु सेवाको लागि निशुल्क रुपमा एक्स–रे गर्नको लागि मेसिन सञ्चालनको तयारी भएको नगरप्रमुख आचार्यले बताए । राज्यको नियम कानुनले गर्दा केहि समस्या भएकोले अब २र३ दिनमा भित्र एक्स–रे मेसिन सञ्चालन ल्याउने उनले बताए ।
नगरप्रमुख आचार्यले भने, म आफै कोरोनाको कारण मृत्युलाई जितेर नयाँ जीवन पाएको मान्छे भएकोले नगरका सबैजनताको सेवाको लागि नगरले कोभिड १९ नियन्त्रण र रोकथामका लागि सवै संयन्त्र परिचालन गरेको उनले बताए । धाइजनमा रहेको आइसोलेसन वार्डमा एक्स–रे मेसीन जडान अन्तिम चरणमा पुगेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।
’हामीले कोभिड नियन्त्रण र उपचारका लागि काम गर्न प्रोत्साहन गर्नु पर्छ भन्ने ठानेर फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी तलवको ५० र ३० प्रतिशत हुने गरी थप भत्ता उपलब्ध गराउने निर्णय गरेका छौं’, उपप्रमुख मीना पोखरेल उप्रेतीले भनिन्, ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भए सबैको उपचारमा लाग्ने आइसियू, एचडियू, भेन्टिलेटर लगायत सबै उपचार खर्च पनि नगरले ब्यहोर्ने निर्णय गरेको उनले बताइन ।
कुनै पनि नगरवासीलाई कोभिड १९ को लक्षण देखा परे उपचार गर्न अस्पताल लैजानु पर्ने भएकाले नगरपालिका परिसरमा दुईवटा एम्बुलेन्स तयारी अवस्था राखिएको र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने, कसैलाई कुनै अप्ठ्यारो परे तत्काल नगरपालिकामा सम्पर्क गर्न फोकल पर्सनको व्यवस्था गरी सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । मेचीनगरकाका सबै वडा स्तरीय स्वास्थ्य चौकी प्रमुखलाई वडागत कोभिड फोकल पर्सन तोकेको उनले जानकारी दिए।

