बाहुण्डाँगी १७ जेठ । नेपालको पुरानो शाखा मध्येको एक सिद्धार्थ जेसीजले कोरोनाको महामारीमा २ हजार अस्पतालका विरामी कुरुवाहरुलाई खाना खुवाइ सकेको छ । जेठ ६ गतेदेखि सुरु गरेको निःशुल्क खाना वितरणले आजका (१२ औँ दिन) सम्म दैनिक १ सय ५० देखि २ सयका दरले विरामीका कुरुवाहरुलाई खानाको व्यवस्थापन गर्दै आएको छ । एघारौ दिन सम्म आइपुग्दा करिक २ हजारलाई खाना खुवाइएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताउनु भयो । अध्यक्ष ज्ञवालीका अनुसार संस्थाले आज मात्र २०० जनालाई खाना खुवाईको थियो ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा तथा सिद्धार्थ बसपार्कस्थित सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा उपचाररत विरामी तथा विरामी कुरुवाहरुलाई लक्षित गर्दै खाना वितरण गरिएको ज्ञवालीले बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्रलाई अंगिकार खाना वितरण कार्य सुरु गरिएको ज्ञवालीले जानकारी दिनु भयो ।

युसीएमएसमा सांझ र बसपार्कमा रहेको आइसोलेशनमा बिहान सांझ खाना वितरण गरिएको कार्यक्रम संयोजक कमल जि.सी.ले जानकारी दिनु भयो । खाना वितरण कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरुका साथै संस्थाका शुभेच्छुकहरुको साथ र सहयोग गरेको जि.सी.ले बताए ।
विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीआई सिद्धार्थ, नेपालले निषेधाज्ञा जारी भएपछि विभिन्न रचनात्मक कार्यलाई तीव्रता दिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि जेसीजले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण, विरामीलाई उपचारका लागि सहयोग, बाल आश्रममा खाद्यान्न सामग्री वितरण जस्ता कार्यक्रम गरेको छ । कोभिडकै बिचमा निरन्तर काम गरेको र सामाजिक क्षेत्रमा पुरयाएको योगदान स्वरुप नेपाल जेसीजले हालै मात्र कदर पत्रद्धारा सम्मान समेत गरेको छ ।

संस्थाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।

