विविध

२ महिलालाई ललाई फकाई बेच्न खोज्नेे श्रीमान् -श्रीमती पक्राउ

पर्सा, जेठ २२ । मानव बेचबिखन गरेको आरोपमा प्रहरीले श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका-५ ठेगाना भएकी २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री रहेका छन् ।

उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही ५० हजार रुपैयाँ दिने भनी ललाई फकाई नेपालगञ्जसम्म लगि पैसा लिन वीरगंज जानुपर्छ भनी झुक्यानमा पारी वीरगंज महानगरपालिका-१६ स्थित ईनर्वा नाकासम्म पुर्‍याई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी मानव वेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पीडितहरूको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूउपर मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।