झापा, जेठ २७ । झापाको दमक स्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत एक जना छात्राको रहस्यमयी मृत्यु भएको छ ।
दमक–५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको बुधवार साँझ रहस्यमयी मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरिक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ ।
प्रहरीले सेजलाको मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । उनको पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको जनाएको छ । उनलाई बुधबार बेलुकी करिव ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए ।
उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरिक्षक कार्कीले बताए । साथीहरुले नै ६ देखि साढे ६ बजेको समयमा उनलाई अस्पताल पुरयाएका र तत्कालै उनको लाइफलाइन अस्पतालमा नै मृत्यु भएको देखिएको छ, हामी सुक्ष्म अनुसन्धानमा छौं– डीएसपी कार्कीले भने ।
उनका अभिभावकहरु राती ११ बजे दमक आइपुगेका बताइएको छ । आफन्तहरु उनको मृत्यु रहस्यमयी भएको भन्दै प्रहरीमा जाहेरी दिने तयारीमा छन । प्रहरीले भने तत्काल उनको मृत्युको कारण थाहा पाउन पोस्टमार्टमलाई प्राथमिकता दिएको बताइएको छ ।

