काठमाडौं, असार १६ । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा इंग्ल्यान्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि दाबेदारका रूपमा अन्तिम आठमा पुगेको हो ।
लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।
त्यस्तै स्विडेनलाई पराजित गर्दै युक्रेन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति नै भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसंग खेल्नेछ ।

