संघ \संस्था

झापामा कोभिडपछिको पत्रकारिताः चुनौती र दायित्वबारे छलफल

झापा, असार १७ । झापामा पत्रकारजन्य संगठनका नेता तथा पालिका स्तरिय प्रेस क्लवका अध्यक्षहरु बिच ‘कोभिडपछिको पत्रकारिता, चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा बिहिवार जिल्लाका विभिन्न पत्रकार संगठनका नेता तथा प्रेस क्लवका अध्यक्षहरु बिच भर्चुअल छलफल सम्पन्न भएको हो । छलफलमा सहभागी अधिकांश वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यम कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको बताएका छन् ।

उनीहरुले पत्रकार र कार्यरत सञ्चारमाध्यम दुबै आर्थिक रुपले समस्यामा परेको अहिलेको विषम् परिस्थितिमा स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । साथै स्थानीयसंगै प्रदेश र संघीय सरकारले पनि प्रभावितहरुका लागि विशेष राहत प्याकेज ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।

छलफलमा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष एवम् प्रेस क्लव भद्रपुरका अध्यक्ष गोविन्द चन्द क्षेत्री, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, सचिव डिल्लीराम घोर्साइ, प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेती, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष कमन देवान, संघीय पत्रकार मञ्च नेपालका अध्यक्ष दिलकुमार लावती, स्वतन्त्र पत्रकार मञ्चका केन्द्रीय सदस्य नरेन्द्र ढकाललगायतले पत्रकारलाई पत्रकारितामा टिकाउने र परिवर्तित परिस्थिति अनुसारको क्षमता विकासमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, प्रेस क्लव मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, कनकाई प्रेस क्लवका अध्यक्ष राम निरौला लगायतले चुनौतीहरुको सामना गर्दै पत्रकारले महामारीको समयमा स्वास्थ्य सुरक्षाप्रति सचेत रहेर काम गर्नुपर्ने बताए ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको भर्चुअल छलफलमा उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशिला संग्रौलाले धन्यवाद ज्ञापन र कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।