मेचीनगर, भदौ १६ । मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँछ । कक्षा १२ को परिक्षाको तयारी गरिरहेका नगरभरीका विद्यार्थीहरुलाई आज एस्ट्रेजेनेकाको खोप लगाइने मेचीनगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
खोप लगाउनका लागि सबै तयारी भइसकेको छ । परिक्षा अन्तर्गतको प्रवेश पत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो । विद्यार्थीहरुलाई खोप लगाउनका लागि मेचीनगरमा ५ वटा केन्द्र निर्धारण गरिएको छ ।
उत्तरी मेचीनगर स्थित भानु मावि र मेची जनसाधारण माविका परिक्षार्थीलाई मेचीनगर २ स्थित भानु माविमा खोप दिइने भनिएको छ । यस्तै काँकरभिट्टा र आदर्श माविका लागि वडा नम्बर ६ स्थित काँकरभिट्टा माविमा केन्द्र तोकिएको छ ।
यस्तै कवि शिरोमणी मावि, होलीबेल अंग्रेजी मावि, हिमालय एकाडेमी, इष्ट होराइजन अंग्रेजी मावि र मेचीनगर पोलिटेक्नि इनिष्टिच्यूटका परिक्षार्थीलाई वडा नम्बर १० स्थित प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा खोप लगाइने भनिएको छ ।
त्यसैगरी धुलावारी माविका लागि सोही विद्यालयमा तथा सहिद दशरथ चन्द मावि, बलभद्र जनता मावि र सरस्वती बाल कल्याण माविका लागि वडा नम्बर १३ स्थित सहिद दशरथ चन्द माविमा खोप लगाइने नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
खोप लगाउनका लागि परीक्षा प्रवेश पत्र अनिवार्य गरिएको छ । गत साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरिएको थियो ।
अब परिक्षा कहिले हुन्छ ? कुनै औपचारीक निर्णय भएको छैन । तर कयौँ विद्यार्थीहरु परिक्षाको तयारीमा छन् । सोहि तयारीमा रहेका विद्यार्थीहरुलाई आज खोप दिन लागिएको नगरपालिकाले जनाएको छ ।

