बाहुण्डाँगी । कनकाइ नगरपालिकामा रहेको सुरुङ्गा जेसीजले जुन महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले मंगलबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार एरिया ए का ४२ वटा शाखाहरु मध्ये सुरुङ्गा यो महिनाको उत्कृष्ट बन्दै अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजको विधान अनुसार हरेक क्षेत्रबाट उत्कृष्ट कार्य सम्पादन गरेका शाखाहरु निरुपित उपाध्यक्षको रिपोर्टका आधारमा निरुपित कार्यकारीणी उपाध्यक्ष हुँदै नेपाल जेसीजमा पुग्छ ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले जुन महिनाको कार्य सम्पादनको आधारमा सुरुङ्गालाई अवार्ड प्रदान गर्नु भएको थियो । सुरुङ्गा जेसीजका लागि तेस्रो महिला अध्यक्षका रुपमा २०२२ लाई नेतृत्व गर्दै आउनु भएकी सुष्मा न्यौपानेले सुरुवाती महिनादेखि नै उत्कृष्ट कार्य गर्दै आउनु भएको थियो । दुई पटक सम्म छनोटमा परेर थोरै अंकले पछि परेको यो शाखाले छैटो महिनामा सफलता प्राप्त गरेको छ ।

शाखाले आफ्नो वार्षिक कार्यक्रम अनुसार अशक्तलाई ह्वील चेयार प्रदान, बाढी पीडितलाई खाद्यन्न तथा लत्ताकपडा सहयोग, शाखाकै वन बाटिकमा वृक्षारोपणलगायतका कार्यक्रमहरु सम्पन्न भएका थिए । ‘कर्म गर फलको आसा नगर भन्ने भनाईलाई आत्मासाथ गर्दै निरन्तर काम गरिरहेका थियौँ’ अध्यक्ष सुष्मा न्यौपानेले भन्नु भयो– ‘यो पटक प्राप्त अवार्डले शाखामा हामीलाई अझ हौषला प्राप्त भएको छ ।’ अध्यक्ष न्योपानेले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा निरन्तर काम गर्ने बताउनु हुँदै यो कार्यमा साथ समर्थन, सहयोग गर्ने सबै पूर्व अध्यक्ष, पदाधीकारी तथा नेपाल जेसीजका पदाधिकारीहरु प्रति आभार व्यक्त गर्नु भयो ।

