स्वास्थ्य

जाडोमा हात–खुट्टा र ओठ फुट्ने समस्या छ ? यस्ता छन् बच्ने उपाय

काठमाडौं । जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ । यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ । तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ ।

छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ क्रिम लगाउनु पर्छ । कसैको ओइली स्किन हुन्छ भने कसैको ड्राइ । ड्राइ स्किन भएकाहरुले बाक्लो, तेल बढी भएको मोइश्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । जसको ओइली स्किन हुन्छ, उसले मोइश्चराइजर पानी र तेलको मात्रामा पानीको मात्रा तेल भन्दा बढी भएको अर्थात लोसन प्रयोग गर्नुपर्छ ।

एकदमै धेरै ओइली फेस हुनेले जेल बेस मोइश्चराईजर प्रयोग गर्नु उचित हुन्छ । यो एकदमै लाइट खालको हुन्छ, चिपचिप नआउने । छालको प्रकार हेरेर मोइश्चराईजर मुखको लागि पनि प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै धरै तातो पानीले नुहाउने गर्नु हुँदैन । नुहाइसकेपछि पनि धेरै सुख्खा गरेर नपुछ्ने । पानी अलि अलि रहँदै शरीरभरी नै मोइश्चराईजर लगाउने । किनकी शरीर सुख्खा भयो भने चिलाउने हुन्छ ।

अनुहारलाई यसरी जोगाऔं
अनुहारलाई घामबाट बचाउनका लागि सन्सक्रिमको प्रयोग गर्नुपर्छ । जाडो महिनामा धेरै घाम ताप्ने, घाम मा बस्ने गरिन्छ । यसले चायाँ, पोतोदेखि लिएर चाउरिपना, दाग धब्बा समस्याहरु निम्त्याउँछ । छिटो बुढो देखिन्छ मानिसलाई । जाडोको घाम अझ पारिलो हुन्छ । घाममा धेरै समय बस्दा अनुहारमा असर गर्छ ।

सन्सक्रिम सामान्य छाला भएकाहरुले ३० देखि ५० एसपिएफ भएको प्रयोग गर्नुपर्छ । बिहान प्रयोग गरियो भने ३–४ घण्टापछि फेरि लगाउनु पर्ने हुन्छ । पर्याप्त मात्रामा । यसको प्रयोग नगरी छालालाई घामबाट बचाइएन भने हल्का भएको चायाँ पोतोहरु पनि फर्केर आउने अथवा नभएको पोतो देखा पर्ने हुन्छ ।

जाडोमा खानुपर्ने खाना
जाडो याममा पानी प्रशस्त पिउनुपर्छ । चिसो पानी खान मन नभए मनतातो बनाएर अथवा कागती पानी या सादा चिया पिउनुपर्छ । प्यास लागेन भनेर पानीको मात्रा कम गर्नु हुँदैन । नत्र छाला भित्रैबाट ड्राइ हुन्छ ।

त्यसैगरी तेल, भिटामिन इ र ओमेगा–३ फ्याट्टी एसिड प्रशस्त मात्रामा भएको खाना खाँदा छाला नरम र चम्किलो हुन्छ । यो भिटामिन माछा, बदाम, काजुमा हुन्छ । हरियो सागपात पनि प्रशस्त खानुपर्छ । जाडोयामको खानामा यी खानेकुरा सामेल गर्ने हो भने स्किन भित्रबाटै ओइली भएर चम्किलो हुन्छ ।