खेलकुद

कप्तान रुविना र सरस्वतीको उत्कृष्ट प्रदर्शनले कतारविरुद्ध नेपालकाे ऐतिहासिक जित

काठमाडौं । कप्तान रुविना क्षत्री र सरस्वती कुमारीको उत्कृष्ट प्रदर्शनमा कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले एक खेल अगावै घरेलु टोली विरुद्धको टि ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको छ।

बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार निर्धारित १९ दशमलव ३ ओभरमा ६८ रनमा अलआउट भयो।

कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रन बनाइन्। केरि पाउनसेटले १५ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कतारलाई कम स्कोरमा रोक्न नेपालकी सरस्वती कुमारीले सर्वाधिक ४ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ८ रन खर्चिन्। रुविना क्षेत्रीले दुई विकेट झारिन्। २.३ ओभर बलिङ गरेकी रुविनाले १२ रन खर्चिन्। सवनम राई र कविता जोशीले समान एक विकेट झारे।

त्यसअघि दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले अर्धशतक प्रहार गरिन्। ४८ बलको सामना गरेकी कप्तान रुविनाले ४ चौका र १ छक्का हान्दै अर्धशतक पुरा गरेकी हुन्। रुविना अन्तिम ओभरको चौथो बलमा क्याच आउट हुन पुगिन्।

कप्तान रुविना नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। यसअघि कतारसँगकै पहिलो खेलमा इन्दु बर्माले अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेकी थिइन्।

ओपनर कविता कुँवरले ३१ को योगदान दिईन्। ३० बलको सामना गरेकी उनले २ छक्का प्रहार गरिन्। अप्सरी वेगम २३ र कविता जोशी शुन्य रनमा नटआउट रहे।

अप्सरी वेगमले १७ बलमा १ चौका मद्धतमा २६ रनमा नटआउट रहिन्। ज्योति पाण्डेले ६, सरिता मगरले ४ र काजल श्रेष्ठले ३ रन थपे। डोली भट्ट शुन्य रनमा रन आउट भइन्।

कतारका लागि एन्जेलिना मेरीले २ तथा एलिना खान, सविजा पनायाम र साची डाडवालले एक एक विकेट लिए।

यसअघि मगंलबार भएको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो। नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ।

आइसिसी वुमन्स टि–२० एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेलिरहेको छ। सिरिजपछि नेपाली टोली शुक्रबार युएईतर्फ जानेछ।