खेलकुद

नेपालले आज कुवेतविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज बिहीबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ ।

सन् २०१९ मा भएको एक भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो । नेपाल त्यस जितलाई कायम राख्न चाहन्छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । तर, नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउदै विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राखेको छ ।

यता कुवेतले भने आफ्ना दुबै खेलमा पराजय भोगेको छ । कुवेतले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भोगेको थियो ।

छनोटअन्तर्गत युएई लगातार दुई खेल जित्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता एक–एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानले समान दुई–दुई अंक जोडेपनि नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौ स्थानमा रहेका छन् ।

प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ ।

छनोटमा ६ टिम सहभागी छन् ।  छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।