नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशन बिहिवारबाट पोखरामा सुरु हुँदैछ । पोखरा जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १६१ वटा शाखाका करिब ३ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । महाधिवेशनको उद्घाटन गण्डगी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्दै हुनुहुन्छ । महाधिवेशनमा सहभागि हुन देशभरबाट जेसीज सदस्यहरु पोखरा जाने क्रम सुरु भएको छ । आतिथ्यता शाखाका अध्यक्ष किरण केसीले पोखरा महाधिवेशनले जेसीज महाधिवेशनको इतिहासमा नयाँ आयाम ल्याउने बताउनु भयो । महाधिवेशनको तिब्र तयारीमा रहनु भएका केसीले पर्यटन नगरीमा पोखरमा हुने महाधिवेशन अन्य महाधिवेशन भन्दा फरक र ऐतिहासिक रुपमा सम्पन्न हुने कुरा बताउनु भयो ।
मंगलवार महाधिवेशन स्थलमा सभागृहचोकमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनका विषमा जानकारी गराउँदै अध्यक्ष केसीले महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । ‘हामी अन्तिम तयारीमा छौँ’ महाधिवेशन बारे बोल्दै अध्यक्ष केसीले भन्नु भयो–“अब केही प्राविधिक कामहरु मात्र बाँकी छन् । महाधिवेशनमा सहभागि हुन देशभरबाट उत्साहपूर्वक जेसीज साथीहरु आउने जानकारी पाएका छौँ पक्कै पनि यस सुन्दर नगरीमा जेसीज अभियानले एउटा सार्थक रुप पाउनेछ । अनि नयाँ सन्देश बोकेर जानेछ ।”
नेपाल जेसीजका अध्यक्ष सिनेटर अरुणेश्वर खनालले पोखरा महाधिवेशन अन्य क्षेत्रका महाधिवेशन भन्दा फरक शैलीमा गर्ने तयारीका साथ लागि परेको बताउनु भयो । उहाँले आतिथ्यता शाखाको अहोरात्र मेहेनत अनि प्रविधि मैत्री वातावरणमा महाधिवेशनले सार्थक रुप पाउने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

