राजनीति

एमाले अध्यक्ष ओली आज झापा आँउदैं, आधा दर्जन कार्यक्रममा सहभागी हुने

झापा। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) गृहजिल्ला झापा आँउदै छन् ।

उनी यहाँका आधा दर्जन कार्यक्रममा सहभागी हुने छन् । अध्यक्ष ओलीको व्यस्त कार्यसूची रहेको एमाले झापा सदस्य मोहनकाजी न्यौपानेले जानकारी दिए । ओली बिहान अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । उनले त्यहाँ सहिदको सालिकमा माल्यार्पण गर्ने छन् ।

एमाले अध्यक्ष ओली त्यसपछि कमल गाउँपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ पुल उदघाटन गर्ने कार्यक्रम छ । उनी झापाको बिर्तामोडमा आयोजना गरिने तीन औपचारिक कार्यक्रममा सहभागी हुने छन् । उनले एमालेनिकट प्रदेश १ स्तरीय खेलकुद महासङ्घको अधिवेशन उदघाट्न गर्ने छन् । सिपी पार्टी प्यालेसमा आयोजित प्रेस चौतारी नेपालको प्रदेश १ स्तरीय प्रथम सम्मेलनको दिउँसो १२ बजे उद्घाटन गर्ने चौतारीका झापा इन्चार्जसमेत रहेका न्यौपानेले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन १४ जिल्लाबाट अतिथि, प्रतिनिधि र पर्यवेक्षक झापा आइसकेका छन् । ओलीले दिउँसो २ बजे झापा गोल्डकपको पाँचौँ संस्करणको उद्घाटन गर्ने कार्यक्रम छ । फागुन ३० सम्म चल्ने प्रतियोगिता डोमालाल राजवंशी रङ्गशालामा हुने छ । त्यसको सम्पूर्ण तयारी सकिएको आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।