झापा । एपिएफ फुटबल क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब काठमाडौं विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौँ संस्करण अन्तर्गत डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै सातदोबाटो प्रतियोगिताको पहिलो सेमिफाइनल पुग्ने टिम समेत बनेको छ ।

सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए । तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।
खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।
४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।

सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई आजको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।
नारी दिवशको अवशरमा भोली महिलाहरुलाई नि:शुल्क प्रवेश
यस्तै आयोजकले नारी दिवशको अवशरमा भोली महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको जानकारी गराएको छ ।
भोली बिश्व नारी दिवश परेकाले सम्पुर्ण महिला आमा दिदिबहिनिहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

