बाहुण्डाँगी । मेची महाकाली उल्टो पैदल यात्री ऋषी परियारलाई कञ्चन जेसीजले आज सम्मान गरेको छ । १ महिना १८ दिन लगाएर रुपन्देहीको कञ्चन पुगेका परियारलाई आज एक विषेश कार्यक्रमको आयोजना गरि नगदसहित सम्मान गरिएको शाखा अध्यक्ष राजन पौडेलले बताउनु भयो ।

दाङ तुलसीपुर निवासी परियारले झापाको मेची पुलबाट उल्टो पैदल यात्रा तय गर्नु भएको थियो । यहाँ पुग्न परियारलाई १ महिना ८ दिनको समय लागेको हो । सम्मानपछि बोल्दै परियारले यति लामो यात्रामा पाएको महत्वपूर्ण सम्मानले आफुलाई उर्जा मिलेको बताउनु भयो । कञ्चन जेसीजले नगद ५ हजारसहित आजको एक रातका लागि खान बस्नको व्यवस्था समेत गरेको छ ।

शाखा अध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शाखाकी निवर्तमान अध्यक्ष राधिका चौधरीलगायत यस क्षेत्रका विभिन्न व्यक्तिहरुको उल्लेखिय सहभागितामा सम्मान गरिएको थियो । साथै अध्यक्ष पौडेलले यस पछिका यात्रामा कञ्चन जेसीजले पश्चिमका जेसीज शाखाहरुसँग सहकार्य गरेर यात्रामा सहज बनाइदिने बताउनु भयो । कार्यक्रमको सञ्चालन महासचिव बुद्धिप्रसाद रेग्मीले गर्नु भएको थियो ।

