शिक्षा

इस्ट होराइजन अवार्ड कार्यक्रम,राष्ट्रिय खेलाडीदेखि उत्कृष्ट विद्यार्थी सम्मानित (तस्बिरसहित)

धुलाबारी । निजी विद्यालय मध्येकै उत्कृष्ट धुलाबारीको इस्ट होराइजन माविले आफूले पाएको ब्रिटिस काउन्सिलको इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) का बारेमा जानकारी गराउँदै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरेको छ ।

विहीवार विद्यालय परिसरबाट ब्यान्डबाजासहित धुलाबारी मोड हुँदै टाउन हलमा पुगेर कार्यक्रम गरिएको थियो । कार्यक्रममा अवार्डका बारेमा जानकारी गराइएको हो । विश्वस्तरीय विद्यालयको मान्यता प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्डबाट इस्ट होराइजन मावि सफल भएको हो ।

देशभरबाट सहभागी ६ सय विद्यालय मध्ये ८४ ले उक्त अवार्ड पाएको हो । त्यसमा पनि पूर्वबाट इस्ट होराइजनले मात्रै अवार्ड पाउन सफल भएको विद्यालयका प्रिन्सिपल सञ्जिव राईले जानकारी दिए । हाम्रा होनहार विद्यार्थी र शिक्षकहरुको कडा मिहेनत तथा उत्साहले अवार्ड प्राप्तिको सुखद् गन्तव्यमा पुगेको विद्यालयका प्रिन्सिपल राईले बताए ।

विश्वस्तरीय विद्यालयको मान्यता प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्ड कार्यक्रम सन् २०१२ बाट नेपालमा सुरु भएको हो । अहिलेसम्म यसमा सहभागी भएका कूल ६३२ विद्यालयमध्ये २५० विद्यालयले अवार्ड पाउन सफल भएका छन् ।

No description available.

जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इस्ट होराइजन विद्यालयले सन् २०२२ को जनवरी २४ तारिखमा यो उच्च गरिमायुक्त अवार्ड प्राप्त गर्न सफल भएको स्कूलका आइएसए प्रोग्राम कोअर्डिनेटर नविन दाहालले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलाडी पुजन उपरकोटी, सारेगामाकी फस्ट रनरअफ रोशा फुँयल, पूर्व प्रअ विष्णु राउत, पुराना शिक्षक पुरेन्द्र निरौलालाई सम्मान गरिएको थियो ।

यस्तै, विद्यालयका विद्यार्थी सहभागी भई विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो विद्यालय एनसीसी, लिटल मिस झापा, इन्टरनेशनल क्वीजमा भाग लिएर उत्कृष्ट बनेको थियो । यस्तै, प्रत्येक इभेन्टका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

मेचीनगर नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रमुख बिष्णु प्रसाईं, ब्रिटिस काउन्सिलका भिक्टर जोसेफ, अग्रज पत्रकार चन्द्र भण्डारी, नगर शिक्षा अधिकारी होम भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मणिकुमार उप्रेती, अर्जुन पौडेल, धुलाबारी खानेपानीका अध्यक्ष अजय घिमिरे, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, शिक्षासेवी यामप्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

विद्यालयका शिक्षकद्वय रेखा क्षेत्री र विकास ग्वालले सञ्चालन गरेको कार्यक्रममा सारेगामाकी फस्ट रनरअफ रोशा फुँयलले गीत गाएकी थिइन् । त्यस्तै, विद्यार्थीले विभिन्न जातीय पहिचान झल्काउने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।