मेचीनगर । झापाको मेचीनगरमा सोमबारबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।
मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा वडानम्बर—७ ले वियजी यात्रा शुरु गरेको छ । प्रतिस्पर्धी वडानम्बर —४ लाई टाइब्रेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै वडानम्बर—७ विजयी भएको हो । मेचीनगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बरबरी खेलेपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिइएको थियो ।
वडानम्बर —४ का आदित्य पराजुली, आर्यन भट्टराई, विप्लव प्रधान र विट्टु प्रधानको प्रहार गोलमा परिणत भएको थियो भने । रणजित रानाको प्रहार वडानम्बर —७ का गोलरक्षक मेघा मोतेले बचाएका थिए । मोते खेलको म्यानअफ दि म्याच समेत घोषित भएका थिए । उनलाई प्रतियोगिता उद्घटान समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले म्यान अफ दी म्याचकोपुरस्कार प्रदान गर्नुभयो ।
यसैगरी, वडानम्बर—७ का साईमन मगर, चेतन पौडेल, आषिश मगर, रोशन सुवेदी र रोशन करुवाको प्रहार वडानम्बर —४ का गोलरक्षक सञ्जिव कार्कीले बचाउन सकेनन् । २१ गते हुने फाइनल विजयताले नगद १ लाख ५० हजार तथा उपविजेता टिमले नगद ७५ हजार र तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष एवम् वडानम्बर —४ का वडाध्यक्ष नविन वरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि आचार्य, मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहआयोजक स्थानीय बाहुनडाँगी युवा क्लब रहेको छ ।

