विविध

चुनावका लागि सबै ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कनकाईमा दिपक कोईराला

चन्द्र बस्नेत
कनकाई ।
आगामी वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आज भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो ।

यसैबिच स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतसहित आज १५ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतसमेत रहनु भएका जिल्ला मुख्य न्यायाधीश गिरिराज गौतमको कार्यालय शिक्षा विकास तथा समन्वय इकाई समितिको कार्यालयमा स्थापना गरिएको छ ।

आजदेखि निर्वाचन सम्बन्धी कामकाज अगाडि बढाईको जनाउँदै उहाँले जिल्ला मेचीनगर, विर्तामोड, अर्जुनधारा, दमक, कनकाई, शिवसताक्षी, गौरादह नगरपालिका र बुद्धशान्ति, कचनकवल, हल्दिबारी, गौरीगञ्ज, बाह्रदशी, झापा, कमल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिएको बताउनुभयो ।

कार्यालयको उद्घाटन गर्दै न्यायाधीश गौतमले मन, बचन र कर्मले निर्वाचनलाई निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकार, राजनीतिक दल, नागरिक समाज सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिपूर्ण र सुरक्षित तवरले जिल्लामा निर्वाचन गर्न गराउन सबै पक्ष उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले झापामा राजनीतिक दलहरुबीचको सम्बन्ध अत्यन्तै सुमधुर रहेको हुँदा निर्वाचन पनि मुलुकै उदाहरणीय हुने तरिका र विधि अवलम्बन गर्नका लागि सबैसँग अनुरोध गर्नुभयो ।

यता झापाको कनकाई नगरपालिकामा आउनु भएका निर्वाचन अधिकृत दीपक कोईरालाले आयोगलेजारि गरेको आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ। आज कनकाईमा आफ्नो कार्यलयको स्थापना कार्यक्रममा उहाँले सबै राजनीतिक दल,जनप्रतिनिधि एवम् कर्मचारी तथा सन्चारकर्मिहरुलाई समेत आचारसंहिताको पालनागरि आयोगलाई सयोग गर्न आग्रह गर्नुभएको हो।

लामो समय झापाको दमकमा रहेर सेवा प्रदान गरेको र केही महिना अघि मात्र काठमान्डौ गएको तर अहिले निर्वाचनका लागि मात्रै भएपनि देशकै बन्दमुक्त नगर कनकाईमा आउँदा आफुलाई खुशी लागेको प्रतिक्रिया दिनुभएको थियोे । उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुमार फोख्रेल , स्थानीय सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि नगर कर्मचारी , सुरक्षाकर्मि एवम् सन्चारकर्मि लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा निर्वाचन सम्पन्न गर्ने दायित्व हामी सबैको भन्दै नगर कर्मचारीहरुको तर्फबाट आयोगलाई सग्दो सहयोग गर्ने कनकाईका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद न्यौपानेले प्रतिवधता जनाउनु भयो।