झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन केही समयको लागि आएको देशको लुतो भएको बताएका छन् । मंगलबार एमाले मेचीनगरले आयोजना गरेको बृह्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धनको सरकार शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् ।

गृह जिल्ला झापामा पुगेर अध्यक्ष ओलीले भनेका छन्, ‘पाँच दलीय गठबन्धन भनेको देशको समस्या लुतो जस्तै हो अर्थतन्त्र हेरो चिलाउछ, शान्तीसुरक्षा हेरो चिलाउछ, विकास निर्माणको कार्य हेरो त्यतै चिलाउछ । खाली गफमात्रै गर्ने अनि ९–१० महिनामा देशको ढुकुटी रित्याउने यो कस्तो सरकार हो ?’
उनले भने अब जनताले यसको हिसाब गर्ने बेला आएको छ । अबको सरकार कस्को हो थाहै छ होला भन्दै ओलीले मेचीनगरलाई नमुना नगरपालिका बनाउन मलाई र सरकारमा सिधै पहुँच राख्ने गरी मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी र उपमेयरका उम्मेद्वार मिना पोखरेल उप्रेतीलाई जिताउन आग्रह गरेका थिए ।
कार्यक्रममा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्बाङ, पोलिटव्युरो सदस्य अग्नी खरेल, केन्द्रिय सदस्य रविन कोईरालालगायतले सम्बोधन गरेका थिए ।

