झापा। झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् ।
उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे ।
नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए ।
कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरे ।
सात वटा वडा रहेको कमलमा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा (एकीकृत समाजवादी) का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएका निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । ३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा भने २६ हजार २४२ मत खसेको थियो ।

