मेचीनगर । मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्यहरुका लागि आज उम्मेद्वारी दर्ता भएको छ । ५ महिला तथा अल्पसंख्यक र दलित ३ जना गरी ८ जना कार्यपालिका सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयले आजका लागि तोकेको उम्मेद्वारी दर्तामा नेकपा एमाले र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च तर्फबाट उम्मेद्वारी दर्ता भएकाहरु नै सर्बसम्मत रुपमा कार्यपालिका सदस्य हुने भएका छन ।
सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुमा महिला तर्फ अन्जु थापा, कविता खनाल सार्की, तिलजा देवान, माया प्याकुरेल र रिता परियार रहनु भएको छ । पाँचै जना महिला एमालेबाट वडा सदस्यमा निर्वाचित हुनु भएको हो ।
त्यस्तै दलित वा अल्पसंख्यक तर्फ चित्र कुमार धिमाल र ह्रदय राजवंशी एमालेबाट र अमित राई संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट रहनु भएको छ । आवश्यक संख्या जति नै उम्मेद्वारी दर्ता भएको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिनु भयो ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेचीनगरमा ७७ पदमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित ६८ स्थानमा एमालेले विजय हासिल गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार आगामी जेठ १९ गते बेलुका ५ वजे मात्र मतदान सम्पन्न हुनेछ ।

