खेलकुद

केएफटिसी सिटी लिग यु–१४: क्लासिक र संगम बराबरी हुँदा ह्याप्पी क्लब विजयी

झापा। प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यस्तै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएकाे छ ।

काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा क्लासिक र संगमले समान एक/एक गोल गर्दै बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । क्लासिकको तर्फबाट आदित्य बुढाथोकी र संगमको तर्फबाट आदिल राईले गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शनी गर्न सफल संगमका गोल किपर विशेष खत्री म्यान अफ द म्याच घोषित । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा संगमकै सोम कार्की घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

त्यसैगरी आज नै भएको दोस्रो खेलमा ह्याप्पी क्लक विजयी भएको छ । राइजिङ ब्वाइज एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ह्याप्पी विजयी भएको हो । ह्याप्पीको तर्फबाट आदित्य ढुङ्गेल ह्याटि्रक पूरा गर्दै व्यक्तिगत ३ गोल गरे भने युगल भण्डारीले एक गोल गरे ।

ह्याप्पीबाट उत्कृष्ट खेलेका आदित्य ढुङ्गेल म्यान अफ द म्याच घोषित भए । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा ह्याप्पीकै युगल भण्डारी घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित लिगमा १२ अंक सहित ह्याप्पी क्लब शिर्ष स्थानमा छ । ५ अंकसहित क्लासिक वारियर्स दोस्रो, ४ अंकसहित संगम फुटबल क्लब तेस्रो र १ अंकसहित राइजिङ ब्वाइज एफसी पुछारमा रहेको छ ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।