मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाएको छ । वडाले प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा आइतबार बृक्षारोपणसहितको विविध कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा रोपण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

विना कुर्सी बनाइएको मञ्चमा बसेका अतिथिहरुले कार्यक्रमस्थलमा राखिएको स्थानीय लोप हुन लागेको ग्रामीण क्षेत्रमा पाइने चरा, हात्ती, घरेलु परिकार, भेषाभूषालगायतको स्टलको समेत अवलोकन गरेका थिए ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती विशेष अतिथि रहेको कार्यक्रममा डब्लुडब्लुएफका डा.शान्तराज ज्ञवालीको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा कोलकाताबाट नेपाली महाबाणिज्य दुतावासका प्रमुख ईश्वरराज पौडेल आउने कार्यतालिका रहेकोमा उनी सो कार्यक्रममा उपस्थिति हुन सकेनन् । साथै उनले आफु अनुपस्थिति भएपनि कार्यक्रम सफलताको शुभकामना पत्र पठाएका थिए ।

वडाध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निलकण्ठ तिवारीले र सञ्चालन पुस्कर ढकालले गरेका थिए ।

